'ओई! भोलीपर्सि मसँगै बिहे गर् है!' म उसलाई जिस्काउँदै भन्थेँ। 'इस् गर्छु तँसँग बिहे!' ऊ ओठ लेब्र्याउँदै भन्थि। 'किन, के कमि छ र ममा?' 'कमि त केहि छैन बरू अलि बढि नै छ तसँग। तेरो नाक नै धेरै लामो छ के नाकचुच्चे।' ऊ खितिति गरेर भाग्थि। म पनि 'दाउरी' भन्दै लखेट्थेँ। साँझपख चौतारीको छेउमा, स्कुलबाट आउँदा पुलको मुखमा हामी धेरैबेर जिस्किँदै बसिरहन्थ्यौँ। कहिलेकाहिँ ऊ मेरो काँधमा टाउको अड्याएर मेरा औँलाहरू एक-एक गरि गन्दै भन्थि, 'ओई नाकचुच्चे तँ मलाई यसरी नै माया गरिरहन्छस्?' 'गर्दिनँ। तँ दाउरीले मसँग बिहे गरिस् भने चाहिँ सोच्नुपर्ला।' म जिस्काइरहन्थेँ। ऊ मेरो काँधमा प्याट्ट हिर्काउँथि। 'तँसँगै बिहे गर्छु नि मेलो चुच्चे बाहुन। म त बिहेपछि नि तलाई सधैँभरि माया गरेर तँ नै भन्छु हस्?' ऊ पल्टिएर सोद्थि। 'हस् महारानी हस्।' म उसको निधारमा चुमेर भन्थेँ। ऊ मेरो गालामा टोकेर भाग्थि। आज धेरै वर्षपछि फेसबुकमा उसले मेसेज गरि। 'के छ तिम्रो हालखबर। के गर्दैछौ?' उसले च्याटमा 'तिमी' भनेर सम्बोधन गरि। ठिकै गरि। किनकि उसले अरू नै कसैसँग बिहे गरेर मलाई 'तँ' भन्ने हैसियत गुमाइसकेकि थिई।
No comments:
Post a Comment